प्रदेश १ मा नेपाल भ्रमण बर्ष २०२० को तयारी: प्रदेश स्तरीय समिति गठन

धरान(डेस्क): नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउदै राष्ट्रिय लक्ष्य र प्रदेश सरकारको लक्ष्य हासिल गर्ने उद्देश्यले १ नं प्रदेशमा प्रदेश स्तरीय पर्यटन प्रर्वद्धन समिति गठन भएको छ ।

संघीय सरकार तथा प्रदेश सरकारले १ नं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियैतको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको हो । मंगलबार समितिमा नवनियुक्त ३० जना सदस्यहरुलाई नियुक्ती पत्र प्रदान गर्नुका साथै समितिको प्रथम बैठक विराटनगरमा सम्पन्न भएको थियो । समितिका अध्यक्षसमेत रहेका मन्त्री कुसियैतको अध्यक्षता र समितिका संरक्षक तथा मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा बसेको बैठकले विभिन्न १२ वटा उपसमिति संयोजकहरु पनि चयन गरेको छ ।

बैठकले मुल समारोह व्यवस्थापन उपसमिति संयोजकमा फडिन्द्र अधिकारी, प्रर्वतीय पर्यापर्यटन उपसमिति संयोजक टिका गुरुङ, पुर्वाधार निर्माण उपसमिति संयोजक रेवतबहादुर थापा, धार्मिक तथा साँस्कृतिक पर्यटन उपसमिति संयोजक भविश श्रेष्ठ, प्रचारप्रसार उपसमिति संयोजक पुष्य भट्टराईलाई चयन गरेको छ । यस्तै, साहसिक खेल पर्यटन उपसमिति संयोजकमा विराट अनुपम गौतम, प्रचारप्रसार सामग्री उत्पादन उपसमिति संयोजक रमेश राई, पर्यटन सेवा उपसमिति संयोजक एलिना मगर, आर्थिक परिचालन उपसमिति संयोजक भीम घिमिरे, सीमावर्ति बजारीकरण पर्यटन उपसमिति संयोजक कृष्ण साह, ग्रामिण पर्यटन तथा होम स्टे, हस्तकला पर्यटन उपसमिति संयोजक अर्जुन कार्की र अतिथि सत्कार उपसमिति संयोजक देवी गौतम चयन गरिएको छ ।

प्रत्येक उपसमिति संयोजकसहित १७ सदस्यीय सचिवालय पनि गठन गरेको छ । सचिवालयमा संरक्षकको हैसियतमा मुख्यमन्त्री, अध्यक्षको हैसियतमा पर्यटन मन्त्री, सहअध्यक्षकोरुपमा प्रदेश मुख्यसचिव, सहसंयोजक राजन श्रेष्ठ र सदस्य सचिवको हैसियतमा पर्यटन सचिव सञ्जिव राई पनि रहनेछन् । समितिमा राख्न छुटेका आवश्यक व्यक्ति भए उपसमितिमा समेटिने प्रदेशस्तरीय समितिका अध्यक्ष एवं मन्त्री कुसियैतले बताए । बैठकलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले भ्रमण बर्षलाई औपचारिकताको लागि मात्र नमनाउने बताए । राष्ट्रिय लक्ष्य र प्रदेशको लक्ष्य हासिल गर्न आवश्यक कार्ययोजना बनाएर अघि बढ्न मुख्यमन्त्री राईले समितिलाई निर्देशन पनि दिए । नेपाल सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ भने प्रदेश १ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।