विकास यात्रा

शेरधन राई प्रदेश नं १ काे मुख्यमन्त्री हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे केन्द्रीय सदस्य रहनु भएका रार्इ तत्तकालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे पोलिटव्युरो सदस्य हुनुहुन्थ्याे ।

पूर्व सूचना तथा संचार प्रविधि मन्त्री एंव नेपाल सरकारका प्रवक्ता रहिसक्नु भएका रार्इ २०७५ फागुन २ गते प्रदेश नं १ काे मुख्यमन्त्री चयन हुनु भएकाे हाे । स्कूले जीवनदेखि राजनीतिक यात्रा थाल्नु भएका राईको राजनीतिक जीवनको सक्रियता धेरै युवाहरुका लागि प्रेरणादायी छ । निकै लामो समय भोजपुरको जिल्ला नेतृत्व सम्हालेर केन्द्रीय नेतृत्वमा पुग्नु भएका राई निष्ठा र निरन्तरताको राजनीतिमा विश्वास गर्नुहुन्छ ।

पारीवारिक पृष्ठभूमि

भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थिदिङ्खा गाउँ विकास समिति वडा नं ५ पसलभञ्ज्याङ हालकाे अामचाेक गाउँपालिका ३ मा सामान्य किसान परिवारमा वुवा जागीरमान रार्इ र अामा राम्रीमाया रार्इबाट २०२७ साल फागुन ११ गते शेरधन रार्इकाे जन्म भएको हो ।

बुबा जागीरमान राई कुनैबेला पंचायतकालमा पनि गाउँबाट निर्विरोध वडाध्यक्ष हुनुहुन्थ्यो । वहाँको यो वडाध्यक्षको निर्विरोध पद बहुदलपछि पनि कायम रह्यो । पंचायतकालमा तीनपटक र बहुदलपछिका दुई निर्वाचनमा वहाँ गाउँको निर्विरोध वडाध्यक्ष हुनुहुन्थ्यो । गाउँको विकास र गाउँबासीका समस्यासँग घुलमिल भईरहने कार्यले गर्दा उहाँ स्थायी जनप्रतिनिधि जस्तो हुनुहुन्थ्यो । बुबा जागीरमान र आमा अहिले पनि गाउँमै बस्नुहुन्छ । शेरधन जागीरमानका एक्ला छोरा हुनुहुन्छ र उहाँका दुई बहिनी छन् । शेरधन अहिले पनि अविवाहित हुनुहुन्छ ।