प्रदेश १ लाई खुल्ला प्लाष्टिक मुक्त बनाइने

विराटनगर, पुस ३०
प्रदेश सरकारले १ नम्बर प्रदेशलाई खुल्ला प्लाष्टिक मुक्त बनाउने तयारी सुरु गरेको छ । १ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदिश कुसियैतले खुल्ला प्लाष्टिक मुक्त बनाउनका लागि तयारी सुरु गरिएको बताएका हुन् ।

वातावरण विज्ञान केन्द्रीय विभाग, वन तथा वातावरण मन्त्रालयलगायतका संस्थाहरुको विराटनगरमा आयोजनामा भएको प्रदेश नम्बर १ स्तरीय कार्यक्रममा बोल्दै कुसियैतले प्लाष्टिकमुक्त प्रदेश बनाउने योजनाअनुसार काम भैरहेको बताए ।

उनले प्रदेश नम्बर १ अन्य प्रदेशको तुलनामा हरियाली र स्वच्छ प्रदेश रहेको पनि बताए । यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वातावरण विभागका निरीक्षक विष्णु पाण्डेले भूमि, जल, वायु प्रदूषण हुन नदिने नीति लिई महाअभियानले काम गरिरहेको बताए ।

उनले कतिपय स्थानीय तहले फोहोर व्यवस्थापन गर्न नसकेको बताउँदै व्यवस्थापन भएका स्थानीय तहको सिको गरेर अगाडि बढ्न पनि महाअभियानले काम गर्ने बताए ।