भ्रमण वर्षको पूर्वसन्ध्यामा कोशी टप्पुमा एकैसाथ एक सय पर्यटकलाई स्वागत

पप्पु यादव, कोशी टप्पु । नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्वसन्ध्यामा ‘पूर्वको यात्रा’ नामको टिमबाट एकैसाथ १ सयको संख्यामा कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पहिलो समूहका रुपमा पर्यटक भित्रिएका छन ।
शनिवार काठमाण्डौबाट पूर्वको यात्रा टिममा कोशी व्यारेजबाट कोशी टप्पु वन्यजन्तु आरक्षमा आएका १ सय जनाको समुहमा आएका पर्यटकहरुमा बैंकर अनिल साहदेखि मिस एसिया युनिभर्स २०१७ पिंकी राजगढिया, गायिका अभया सुब्बा, पत्रकार, ब्लगर, अष्ट्रेलियाका पर्यटकसमेत सहभागी छन् ।

शनिबार उनीहरु कोशी टप्पुमा रात बिताएर आइतबार बर्जु तालको अवलोकन पश्चात सन्दकपुरतर्फ लागेका छन । नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्वसन्ध्यामा प्रदेश एकमा आएका अतिथि पर्यटकहरुलाई प्रदेश नं १ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसीयैतले स्वागत गरेका थिए ।

कोशी टप्पु क्षेत्रमा आएका पर्यटकहरुलाई कोशी गाउँपालिकाका जनप्रतिनिधिहरु, स्थानीयवासीहरु, होटल व्यवसायीहरु, सामाजिक अगुवाहरु लगायतले भव्य स्वागत गरेका थिए ।

पर्यटन वर्षलाई सफल बनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘पर्यटक र अतिथिको सत्कार भन्ने अभियानलाई सुरु गर्दै मन्त्री कुसियैतले प्रदेश एकमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार प्रदेश एकका रमणीय स्थानहरुको बारेमा व्यापक रुपमा प्रचार प्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तयारी गरेको बताए ।

मन्त्री कुसियैतले भने, ‘कोशी टप्पु वन्यजन्तु आरक्ष, प्राकृतिक पोखरी बर्जुताल, बराहक्षेत्र, रामधुनी, पाथीभरा मातको मन्दिरसँगै नेपालको सबैभन्दा गहिरो स्थान झापाको केचनाकबल, विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथासँगै अन्य साना हिमाल, पहाड, मधेश वनजङ्गल र प्राकृतिक सौन्दर्यता भरिपूर्ण अन्य धेरै स्थानको खोजी र पहिचानमा प्रदेश सरकार लागिपरेको छ ।’
यसैबिच कोशी टप्पु हुँदै प्रदेश१ मा प्रवेश गरेको टोली विराटनगर पुगेपछि विशेष कार्यक्रमको आयोजना गरेर यात्र पूर्वको शुभारम्भ गरिएको छ ।

प्रदेश १ का मुख्य पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रवद्र्धनका लागि ‘यात्रा पूर्व’को शुभारम्भ गरिएको हो । प्रदेश १ सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ’इमाजिन नेपाल’को सहकार्यमा सुरु भएको एक हप्ते यात्रामा बैंकरदेखि पूर्वमिस एसियासहित विभिन्न क्षेत्रका ७० जना व्यक्तित्वको यात्रामा सहभागी रहेको छ ।

यात्रा पूर्वकोमा सहभागी भएका अतिथिलाई आइतबार भव्य समारोहबीच प्रदेश १ को राजधानी विराटनगरमा स्वागत गरिएको छ । प्रदेश १ सरकारको तर्फबाट स्वागत गदै मुख्यमन्त्री शेरधन राईले प्रचुरमात्रामा पर्यटकीय क्षेत्र रहेको यस प्रदेशको यात्राले यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रचार र प्रवद्र्धनमा यात्राले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राईले भने,‘‘प्रदेश १ का सबैभन्दा होचो कचनकवलदेखि विश्वकै सबैभन्दा अग्लो सगरमाथासमेत छ । तर, त्योबाहेक घुम्ने दर्जनौ अरु स्थलहरु छन् जसको व्यापक रुपमा जानकारी र प्रचार भएको छैन ।

यसलाई उजागर गर्ने सरकारको प्रयास हो ।’’ यसमा तपाईहरुको पनि उतिकै साथ रहेन हाम्रो विश्वास छ।’

उनले सरकारले घोषण गरेको २०२० पर्यटन वर्षमा पनि यात्रामा सहभागी टोलीलाई प्रदेश नं १ आएर पुनः घुम्नका लागि आग्रहसमेत गरे । मुख्यमन्त्री राईले यात्रामा सहभागीहरुलाई खादाले अभिनन्दन समेत गरका थिए ।

प्रदेश १ का पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा प्रचार गर्नका लागि एकहप्ताको यात्रा सुरु गरिएको मन्त्री जगदिशप्रसाद कुसियैतले जानकारी दिएका छन् । उनले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आफ्ना ठाउँको विशेषता विश्वस्तरमा फैलाउन सानो प्रयास गरिएको जनाकारी दिए ।

यात्रामा सहभागी नबिल बैंकका सिइओ अनिलकेशरी शाहले प्रदेश सरकारले आफ्ना ठाउँको प्रचारको लागि ल्याउने प्रयासको नविनतम सोचले यस क्षेत्रको पर्यटकीय स्थानको प्रचार प्रसारले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।

यात्राको सहकार्यमा सहयोग गरेका अमेरिका निवासी पाइलट प्रितम कुसियैतले प्रदेश १ का पर्यटकीय गन्तब्यलाई प्रदेशका साथै विश्वभर प्रचार गर्ने उद्देश्यले यात्रापूर्वको कार्यक्रम तय गरिएको जानकारी दिए ।