वातावरण सुधार गर्न प्रदेश १ सरकार नेतृत्व लिन तयार छ : मन्त्री कुशियैत

विराटनगर- प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियैतले पारिस्थितिक प्रणालीको पुनर्स्थापना हुन नसके भविष्यमा झन् जटिल अवस्था आउन सक्ने बताउनुभएको छ ।
आज (जुन५) विश्व वातावरण दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

मानिसका क्रियकलाप र प्राकृतिक प्रकोपका कारण वातावरण बिग्रँदै गएको हुनाले सबै जुटेर यसको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हाल भइरहेका विकासका शैली, मानव जीवन शैली, निर्माण सामग्री आदिको विकल्पन सोचिएमा यसले भविष्यमा ठूलो वातावरणीय क्षति गर्ने इंकित गर्दै वातावरण सुधार्न सबै लाग्नुपर्छ र प्रदेश १ मा प्रदेश सरकार नेतृत्व लिन तयार छ ।’

सो भर्चुअल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दैै प्रा.डा. तेजनारायण मण्डलले यथेष्ट अनुसन्धानपछि नेपालमा विभिन्न कारणले असन्तुलित भएको पारिस्थितिक प्रणालीलाई सच्याउन सकिने बताउनु भयो । उहाँले बाढी, पहिरोलगायतका प्रकोपबाट बिग्रिएको प्रकृतिलाई कसरी सुधार गर्न सकिन्छ भनेर आफैँले विभिन्न स्थानमा गरेका अनुसन्धान विवरणहरू प्रस्तुत गर्नुभयो ।

कोशीको बाढीले बगरमा परिणत गरेको खेतीयोग्य जमिनलाई विभिन्न जातका वनस्पतिको साथबाट पहिलाको जस्तै बनाउन सकिने दृष्टान्त प्रस्तुत गर्नुभयो । उहाँले पहाडी भेगमा पहिरोले सखाप पारेको प्रकृति कसरी सुध्रिन्छ भन्ने सवालमा समेत अनुसन्धान गरी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । स्थानीय जातका बोटबिरुवाहरू रोपेर नै खेर गएका जमिनलाई सुधार्न सकिने उहाँले बताउनुभयो ।

नेपाल जोलोजिकल सोसाइटीका केन्द्रीय अध्यक्ष प्रा.डा. महेन्द्र महर्जनले प्रकृतिको अभिन्न अंगको रुपमा रहेको जीवजगतलाई संरक्षण गरेर सन्तुलित पारिस्थितिक प्रणाली कायम गर्न सकिएन भने प्रकृति तन्दुरुस्त हुन नसक्ने धारणा राख्नुभयो ।

‘नयाँ सोच र सिर्जना, प्रकृतिको पुनर्स्थापना’भन्ने नाराका साथ मनाइएको वातावरण दिवसका अवसरमा स्नातकोत्तर क्याम्पस, नेपाल जैविक समाज र नेपाल जोलोजिकल सोसाइटीले आयोजना गरेको उक्त संयुक्त कार्यक्रममा देश विदेशमा रहेका एक सय ५० जना वैज्ञानिक तथा अनुसन्धाताहरूको उपस्थिति थियो ।

कार्यक्रममा नेपालजोलोजिकल सोसाइटीका प्रदेश १ अध्यक्ष शालीग्राम अधिकारी, स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्री, नेपाल जैविक समाजका अध्यक्ष प्रा.डा. शशिनाथ झा, कुलप्रसाद लिम्बू, वातावरण पत्रकार रामचन्द्र अधिकारीलगायतले धारणा राख्नुभएको थियो ।