विराटनगरमा वनस्पति तथा जैविक विविधता सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु

मोरङ — ‘समृद्धिका लागि एकीकृत जैविक स्रोत’ नाराका साथ विराटनगरमा बिहीबारदेखि दुई दिने वनस्पति तथा जैविक विविधतासम्बन्धी राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

संघीय वन तथा वातावरण मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश १, नेपाल जैविक समाज विराटनगर र वनस्पति समाज काठमाडौंले संयुक्त आयोजना गरेको सम्मेलनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।

राईले प्रदेशको विकास र समृद्धिमा विज्ञान र प्रविधिको योगदान आवश्यक रहेकाले यो सम्मेलनको उपलब्धीलाई उपयोगमा ल्याउने बताएका हुन् । ‘यस सम्मेलनमा नेपालमा वनस्पति तथा जैविक विविधता सम्बन्धी हालसम्म भएको खोज र अनुसन्धानको विषयमा प्रस्तुतिले नविनतम् ज्ञानको आदान प्रदान हुन्छ,’ उनले भने, ‘सम्मेलनबाट भएको उपलब्धीलाई प्रदेशको विकासमा उपयोग गर्छौं ।’

विज्ञान र प्रविधिको विकासका लागि प्रदेश सरकारले नीति लिएको र त्यसै अनुसार माध्यमिक तहका विद्यालयहरुमा विज्ञान प्रयोगशाला स्थापनाको काम सुरु गरेको राईको भनाइ थियो । ‘२०८०/०८१ सम्ममा यस प्रदेशमा ५ वटा अनुसन्धान केन्द्र र १० वटा प्राविधिक विद्यालय स्थापना गर्ने लक्ष्य छ,’ उनले भने, ‘झापाको जलथल सामुदायिक वनलाई जैविक विविधता र वैज्ञानिक अनुसन्धान केन्द्र बनाउने प्रदेश सरकारको नीति छ ।’

प्राध्यापक प्रमोदकुमार झाले नेपालको समग्र वस्तुस्थिति र वनस्पति तथा जैविक विविधताको सम्भावनाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालमा जैविक स्रोतको स्थिति के रहेको र यसलाई विकाससँग कसरी जोड्न सकिने र यसको अनुसन्धानमा राज्यको लगानी आवश्यक रहेको विषयमा बताए । यस्तै, प्राध्यापक रामप्रसाद चौधरीले नेपालमा जैविक विविधताको अवस्था, महत्व, चुनौती र जैविक विविधतामा मानव विकासको योगदानको बारेमा कार्यपत्र प्रस्तुत गरे ।
वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले मुलुकमा वर्षेनी १ अर्ब २० करोड मूल्य बराबरको वनस्पतिसम्बन्धी वस्तु भित्रिने गरेको बताए । १४ औं योजना अनुसार १ करोड ७५ लाख क्यूबिकफिट काठ उत्पादन भएको र यसलाई १० गुणा बढाउन सकिने अवस्था रहेको उनले बताए ।

सम्मेलनमा भारत, बंगलादेशका १३ जना गरी नेपालभरीका ३ सय जना अनुसन्धानकर्ताहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । सम्मेलनमा विभिन्न २७ वटा समूहमा नेपालमा हालसम्म वनस्पति र जैविक विविधताको विषयमा भएको खोज अनुसन्धानको बारेमा २ सय १५ वटा प्रस्तुतिपछि छलफल हुनेछ ।