विश्व वातावरण दिवसको शुभकामना

विश्व वातावरण दिवस जून ५ (२०७७ साल जेठ २३)का अवसरमा प्रदेश सरकार, प्रदेश १ का उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री माननीय जगदीश प्रसाद कुसियतले दिनुभएको शुभकामना सन्देश ………
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज जून ५ तारिख विश्व वातावरण दिवस हो । स्वच्छ वातावरण कायम गरौँ भन्ने जनचेतना जगाउने उद्देश्यले सन् १९७२ को संयुक्त राष्ट्रसंघको निर्णयअनुसार १९७४ देखि यो दिवस मनाउदै आइएको छ । नेपाल सरकारले यस वर्षको नारा ‘सुरक्षित जीवनका लागि जैविक विविधता’ निर्धारण गरेको छ ।
नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा जीउने अधिकार सुनिश्चित गरिएको छ । साथै वातावरणलाई स्वच्छ राख्ने हामी सबैको भूमिका पनि हो । वातावरण सन्तुलित र स्वास्थ नभएमा मानव जीवनलाई असर गर्दछ । जनसंख्या वृद्धि,शहरीकरण,वन विनास, अवैज्ञानिक विकास,प्राकृतिक स्रोतमाथिको दोहन आदि कारणले आज पृथ्वीको वातावरणमा ठूलो क्षति पुग्न गएको छ । जसका कारण ओजोन तह विनाश,अम्लीय वर्षा, विश्व तापमानमा वृद्धि तथा जलवायु परिवर्तनजस्ता वातावरणीय समस्याहरु हामीले झेलिरहेका छौँ । उल्लिखित कारणहरुबाटै आज पृथ्वीको जैविक विविधता पनि नराम्ररी प्रभावित भएको छ ।
जब हाम्रो प्रकृतिमा जैविक विविधता समृद्ध र सन्तुलित हुँदैन,वातावरण सन्तुलित हुन सक्दैन र मानव जीवन पनि स्वस्थ्यकर रहँदैन । वास्तवमा मानव जीवनको आधार नै समृद्ध जैविक विविधता हो । किनभने हाम्रा प्रत्येक आधारभूत आवश्यकता जैविक विविधताबाटै पूर्ति भएका हुन्छन् । हाम्रा जीवजन्तुहरुको नोक्सानी भयो भने अनेकन रोग विरामहरु लाग्ने संभावना बढी हुन्छ अनि हाम्रो जीवन सुरक्षित रहँदैन । जैविक विविधतामा परेको असरका कारण आज हामी अन्य जीवजन्तुबाट मानव समुदायमा आउने कोभिड १९ जस्ता आउने महामारीको प्रकोपसँग जुध्नु परेको अवस्था छ । हाम्रा स्थानीय वनस्पति तथा जनावरहरुको संरक्षण भएन भने अन्य स्थानबाट आउने विस्तारवादी तथा मिचाहा जीवहरुको असर बढ्दै जाने छ । यिनीहरुले हाम्रा खेतीपाती तथा घरपालुवा जनावरहरुलाई प्रभावित बनाउँछन् ।
जैविक विविधताका हिसाबले नेपाल विश्व मानचित्रमा अग्रणी स्थानमा छ । संसारमा पाइने चराको करिब नौ प्रतिशत र स्तनधारीको चार प्रतिशत हिस्सा नेपाले लिएको छ । हाम्रो देशमा मात्र पाइने जीवजन्तुहरुको संख्या तीन सयभन्दा बढी छ । यस किसिमको जैविक विविधतालाई संरक्षण र संवद्र्धन गर्न सकेमा हामी नेपालीहरु सुरक्षित रहन्छौ र समृद्धिको यात्रा निरन्तर अघि बढाउन सक्छौँ ।
हाम्रो प्रदेशको छुट्टै वातावरणीय अवस्था, जैविक विविधता, जीवजन्तुबाट हुने संक्रामक रोगको संभावना आदि कुराहरुको अध्ययन अनुसन्धान गर्न आवश्यक ठानेका छौँ । यस प्रदेश १ को वातावरणको स्वच्छता कायम गर्न,यहाँको जैविक विविधताको रक्षा गर्न,जलवायु परिवर्तन र यसको प्रभावलाई न्यूनिकरण गर्न,जलवायुसँग अनुकुलित रहन, यहाँका स्थानीय प्रजातिका बालीनाली तथा जैविक विविधताको संरक्षण गर्न र प्रदेशबासीलाई सुरक्षित राख्नका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि असन्तुलित वातावरणबाट मानव स्वास्थ्यमा हुने संभावित जोखिमहरुको न्यूनिकरण गरी जनसुरक्षा कायम गर्न र वातावरणको संरक्षणमा विशेष ध्यान पुर्याइने छ ।
कोभिड १९ महाव्याधीका कारण भेला भई गरिने औपचारिक कार्यक्रम गर्नु नभए तापनि जैविक विविधता तथा वातावरण संरक्षणको कार्यमा जुट्न सम्पूर्ण प्रदेशवासीहरुलाई आव्हान गर्दछु र जैविक विविधताको संरक्षण गरी सुरक्षित जीवन जीउन सकियोस् भन्ने शुभकामना दिन चाहन्छु ।
……
मा. जगदीशप्रसाद कुसियत

मन्त्री

उद्योग पर्यटन वन तथा वातावरण

प्रदेश सरकार, प्रदेश १ विराटनगर